• २०८३ असार २३ मंगलबार

विश्वकपबाट बाहिरिएपछि पोर्चुगलको प्रशिक्षकबाट मार्टिनेको राजीनामा

विश्वकपबाट बाहिरिएपछि पोर्चुगलको प्रशिक्षकबाट मार्टिनेको राजीनामा

काठमाडौँ । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकपको अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित भएपछि पदबाट राजीनामा दिएका छन् । उनले यो नतिजालाई भने असफलता मान्न अस्वीकार गरेका छन् ।

डलासस्थित एटी एन्ड टी रंगशालामा भएको खेलमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले ९१औँ मिनेटमा निर्णायक गोल गरेपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो । यही खेलसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ ।

सन् २०२३ मा पोर्चुगलको जिम्मेवारी सम्हालेका मार्टिनेजको सम्झौता विश्वकपपछि सकिने तय थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा समाप्त भएको बताए ।

उनले भने- 'हो, राष्ट्रिय टोलीसँग यो मेरो अन्तिम खेल हो । मैले ४५ खेलमा टोलीको नेतृत्व गर्ने अवसर पाए । पोर्चुगलमा मैले धेरै माया र सम्मान पाए । यो अनुभव सधैँ सम्झिरहनेछु । अब एउटा चक्र समाप्त भएको छ र अहिलेको अवस्थामा यही निर्णय उचित हो ।'

मार्टिनेजले यसअघि बेल्जियमको राष्ट्रिय टोलीका साथै एभर्टन, विगन र स्वान्सी क्लबको पनि प्रशिक्षण सम्हालिसकेका छन् ।

विश्वकपमा भिटिन्हा, जोआओ नेभेस, ब्रुनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडी रहेको बलियो टोली हुँदाहुँदै पनि अन्तिम १६ बाट बाहिरिनु असफलता नभएको उनको भनाइ छ । उनले भने- 'हामी असफल भएका होइनौँ । हामी प्रतियोगिताको प्रमुख दाबेदारमध्ये एक टोलीसँग पराजित भएका हौँ । खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । यस्ता ठूला खेलमा जित र हार साना क्षणले तय गर्छ । जित्ने प्रयास नगर्नु नै असफलता हो, तर हामीले अन्तिम मिनेटसम्म जितका लागि संघर्ष गर्‍यौँ ।'

मार्टिनेजले विश्वकपमा लगातार अन्तिम चरणसम्म पुग्नु कुनै पनि राष्ट्रका लागि सहज नभएको पनि बताए । उनका अनुसार गोलपोस्टमा बल लाग्ने वा साना घटनाले नै विश्वकपको नतिजा निर्धारण गर्ने गर्छ ।

उनले रोनाल्डोलाई पूरा ९० मिनेट मैदानमा राख्ने आफ्नो निर्णयको पनि बचाउ गरे । उनले भने- 'जब टोलीलाई गोल आवश्यक हुन्छ, त्यतिबेला क्रिस्टियानो रोनाल्डोलाई मैदानबाट निकाल्न मिल्दैन । उनी पूरा ९० मिनेट खेल्न सक्षम छन् । उनको उपस्थितिले विपक्षीमाथि दबाब सिर्जना गर्छ, खाली स्थान बनाउछ र स्थिर बलको अवस्थामासमेत उनी निकै प्रभावकारी हुन्छन् । अतिरिक्त समयमा भने गोन्कालो रामोसलाई प्रयोग गर्ने सोच हुन सक्थ्यो । तर नियमित समयमा टोलीका सर्वाधिक गोलकर्ता खेलाडीलाई मैदानबाट निकाल्ने अवस्था थिएन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै