• २०८३ असार २३ मंगलबार

तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, १८३ अर्बको खरिदविक्री

तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, १८३ अर्बको खरिदविक्री

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदन अनुसार देशभरको घरजग्गा बजारमा उल्लेखनीय सुधार देखिएको छ । कारोबार संख्या, कारोबार मूल्य, राजस्व संकलन तथा बैंक कर्जामा वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार तेस्रो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा कारोबार ४.५२ प्रतिशतले घटेको थियो । लिखत पारितअन्तर्गतको कारोबार ०.६२ प्रतिशत तथा लिखत पारित अन्तर्गतको राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ।

घरजग्गा किनबेच भएको कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ भने यस अवधिमा १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा कारोबार रकम १०० अर्ब ७ करोड रुपैयाँ रहेको थियो । घरजग्गा कारोबारबाट संकलन हुने राजस्व २३.७२ प्रतिशत र पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ । यस्तै, आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

बागमतीमा सबैभन्दा धेरै सुधार

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। विपरीत, मधेश प्रदेशमा ४.७९ प्रतिशतले गिरावट आएको छ। कारोबार क्षेत्रफलको हिसाबले गण्डकी प्रदेशमा २४.८४ प्रतिशत वृद्धि भएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

सातै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको देखिएको छ। त्यसमध्ये बागमती प्रदेशमा कारोबार मूल्य १३१.५२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वृद्धि मधेश प्रदेशमा २२.६७ प्रतिशत रहेको छ।

काठमाडौं महानगर अग्रस्थानमा

महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा (८२.१५ प्रतिशत), ललितपुर (७३.८१ प्रतिशत), वीरगञ्ज (३१.०७ प्रतिशत), भरतपुर (२९.२१ प्रतिशत) र विराटनगर (२७.९२ प्रतिशत) रहेका छन् ।कारोबार क्षेत्रफल र कुल कारोबार मूल्यमा पनि सबै महानगरपालिकामा वृद्धि भएको छ। काठमाडौं महानगरपालिकामा कारोबार मूल्य २२३.१२ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

उपमहानगरमा पनि सकारात्मक संकेत

उपमहानगरपालिकामध्ये बुटवलमा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ। तुलसीपुरमा कारोबार क्षेत्रफल ४२.७४ प्रतिशतले बढेको छ भने ११ वटै उपमहानगरपालिकामा कारोबार मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यी तथ्यांकले अघिल्लो वर्षको तुलनामा घरजग्गा बजार क्रमशः चलायमान बन्दै गएको संकेत गरेका छन्। कारोबार, लगानी, राजस्व तथा बैंक कर्जामा आएको वृद्धि बजारमा सुधारको सकारात्मक आधारका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै