• २०८३ असार २३ मंगलबार

एसियाली विकास बैंकसँग १६ करोड ५० लाख डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंकसँग १६ करोड ५० लाख डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंकबीच दुई वटा विकास आयोजनाका लागि कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपालको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुवाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

त्यसैगरी दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा ढुवानी प्रणाली सुधार कार्यक्रम-उपकार्यक्रम २ अन्तर्गत ५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । यो रकम भन्सार कार्यप्रक्रिया तथा ढुवानी सेवाको आधुनिकीकरणका लागि गरिएको सुधारबापत बजेट सहयोगका रूपमा परिचालन गरिनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको विकास यात्रामा एसियाली विकास बैंकले पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालसँग रहेको करिब छ दशक लामो सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाए । उनले नेपालले सामना गरिरहेका आन्तरिक तथा बाह्य चुनौती समाधानमा बैंक निरन्तर सहयोगी रहने र नेपालको विकास प्राथमिकतासँग बैंकका प्राथमिकताहरू मेल खाने बताए ।

सम्झौता कार्यक्रममा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै