• २०८३ असार २४ बुधबार

फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाको दमास्कसमा दुई विस्फोट

फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाको दमास्कसमा दुई विस्फोट

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन सिरियाको राजधानी दमास्कस भ्रमणमा रहेका बेला दुईवटा विस्फोट भएका छन् । सञ्चारमाध्यमका अनुसार म्याक्रोन बसेको फोर सिजन्स होटलबाट करिब १२५ मिटर पर दुईवटा विस्फोट भएका हुन् ।

सिरियाली सञ्चारमाध्यमका अनुसार घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जना प्रहरी पनि रहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा घटनास्थलबाट धुवाँ र आगोको मुस्लो उठिरहेको देखिएको छ । विस्फोटपछि सुरक्षा निकायले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी सडकहरू बन्द गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति कार्यालयले भने राष्ट्रपति म्याक्रोन पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । घटनापछि म्याक्रोनले सामाजिक सञ्जालमार्फत सिरियाली नागरिकले स्वतन्त्र, सुरक्षित, एकताबद्ध र सबै समुदायलाई समेट्ने राष्ट्रको चाहना राखेको उल्लेख गर्दै आफ्नो भ्रमण निर्धारित कार्यक्रमअनुसार जारी रहने बताएका छन् ।

बशर अल असद सत्ताच्युत भएपछि सिरियाको भ्रमण गर्ने म्याक्रोन पहिलो प्रमुख युरोपेली नेता हुन् । उनी सोमबार दमास्कस पुगेका थिए । सिरियाका विदेशमन्त्री असद अल शैबानीले विमानस्थलमा उनको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा म्याक्रोनले राष्ट्रपति अहमद अल शरासँग भेटवार्ता गरेका छन् । दुवै नेताले ऐतिहासिक उमय्यद मस्जिदको पनि भ्रमण गरेका छन् । म्याक्रोनको भ्रमणमा सिरियाको पुनर्निर्माण, वैदेशिक लगानी, सुरक्षा सहकार्य, आतंकवादविरुद्धको अभियान तथा पूर्वाधार, वित्त र ऊर्जा क्षेत्रको सहकार्य प्रमुख एजेन्डाका रूपमा रहेका छन् । यी विषयमा दुई देशबीच विभिन्न सम्झौताबारे पनि छलफल भइरहेको जनाइएको छ ।

यसअघि जुलाई ३ पनि दमास्कसस्थित प्यालेस अफ जस्टिस नजिकै रहेको उटा क्याफेमा बम विस्फोट भएको थियो । उक्त घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै