• २०८३ असार २३ मंगलबार

एआईसहित नयाँ स्वरूपमा फर्किए नोकियाका लोकप्रिय बटन फोन

एआईसहित नयाँ स्वरूपमा फर्किए नोकियाका लोकप्रिय बटन फोन

काठमाडौँ । मोबाइल फोन निर्माता एचएमडीले नोकियाका चर्चित परम्परागत बटन फोनलाई आधुनिक प्रविधिसहित नयाँ स्वरूपमा सार्वजनिक गरेको छ ।

कम्पनीले कृत्रिम बुद्धिमत्ता (एआई) सुविधासहित नोकिया २०० फोरजी, २१० फोरजी, २१५ फोरजी र २३५ फोरजी गरी चार नयाँ मोडल बजारमा ल्याएको हो । नोकिया २०० र २१० फोरजीमा २.४ इन्चको क्यूभीजीए पर्दा दिइएको छ भने २१५ र २३५ फोरजीमा २.८ इन्चको क्यूभीजीए आइपीएस पर्दा रहेको छ । यी सबै फोन कम्पनीको नयाँ एस- ३० प्लस सञ्चालन प्रणालीमा आधारित छन् । यसमा सिकी एआई नामको कृत्रिम बुद्धिमत्ता सहायक सुविधा समावेश गरिएको छ । प्रयोगकर्ताले किप्याडको बीचमा रहेको विशेष एआई बटन थिचेर आवाजमार्फत टर्च बाल्न, क्यामेरा खोल्न, सम्झना गराउने सूचना राख्न वा नम्बर टाइप नगरी फोन गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो एआई सुविधा सुरुका १८० दिनसम्म निःशुल्क उपलब्ध हुनेछ । त्यसपछि भने प्रयोगकर्ताले सदस्यता शुल्क तिरेर सेवा प्रयोग गर्नुपर्नेछ । फोनमा क्लाउड सेवा पनि उपलब्ध गराइएको छ, जसबाट आन्तरिक भण्डारण नभरिई आवश्यक सामग्री प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यद्यपि, प्रयोग गरिएको प्रोसेसरबारे भने कम्पनीले जानकारी दिएको छैन ।

यी फोनमा १,४५० एमएएच क्षमताको ब्याट्री, यूएसबी–सी चार्जिङ, ब्लुटुथ ५.०, ३.५ मिलिमिटर हेडफोन जडान सुविधा तथा एफएम रेडियो समावेश गरिएको छ । यसका साथै अगाडिको भीजीए क्यामेराबाट भिडियो संवाद गर्न सकिनेछ भने नोकिया २१० र २३५ फोरजीमा पछाडि २ मेगापिक्सेलको क्यामेरा पनि दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै