काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेमाथि जातीय विभेदपूर्ण अभिव्यक्ति दिएपछि पराग्वेकी सांसद सेलेस्ते अमारिल्ला विवादमा परेकी छन् । फ्रान्सले विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० ले हराएपछि उनले सामाजिक सञ्जालमार्फत एम्बाप्पेलाई लक्षित गर्दै आपत्तिजनक र जातीय घृणा फैलाउने टिप्पणी गरेकी हुन् ।
अन्तिम १६ को खेलमा एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका थिए । प्रतियोगितामा उनको यो सातौँ गोल हो ।
खेलपछि पराग्वेकी सांसद अमारिल्लाले सामाजिक सञ्जालमा एम्बाप्पेको शिक्षा, पारिवारिक पृष्ठभूमि र उनको पहिचानलाई लक्षित गर्दै अत्यन्त अपमानजनक तथा जातीय विभेदपूर्ण टिप्पणी गरेकी थिइन् । उनले एम्बाप्पेलाई ‘असभ्य’ भन्दै उनी फ्रान्सेली भएको नाटक गरिरहेको आरोपसमेत लगाएकी थिइन् । उनले पराग्वेका गोलरक्षक ओरलान्डो गिलले एम्बाप्पेलाई अपमानजनक संकेत देखाउनुपर्ने टिप्पणीसमेत गरेकी थिइन् । उनले भनेकी थिइन्- 'क्यामरुनमा जन्मिएको, आफूलाई फ्रान्सेली देखाउन खोज्ने, घमण्डी र कुरूप । उसले खेलभरि डर र तनावमा खेलेको थियो, उसको टोली पनि त्यस्तै थियो । उनीहरूले खुला खेलबाट गोलसमेत गर्न सकेनन्, संयोगले जिते । अल्बिरोजाका खेलाडीले खेल सकिएपछि उसलाई थप्पड नहानेकै मात्र धेरैले अपेक्षा गरेका थियौँ । म फुटबलकी समर्थक पनि होइन ।'
यसको जवाफमा एम्बाप्पेले अमारिल्लालाई ‘घृणित महिला’ भन्दै उनको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईं आफ्नो पदका लागि योग्य हुनुहुन्न । तपाईंले पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न । तपाईंको लापरवाही र खुला जातीय विभेदका कारण पाराग्वे टोलीले विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शन ओझेलमा परेको छ ।'
एम्बाप्पेले जातीय घृणा फैलाउने व्यक्तिलाई कहिल्यै छुट दिन नसकिने उल्लेख गर्दै विश्वभर यस्ता गतिविधिविरुद्ध उभिने बताएका छन् ।
फ्रान्सेली फुटबल महासंघले पनि अमारिल्लाको अभिव्यक्तिको कडा निन्दा गरेको छ । महासंघले उक्त टिप्पणीलाई आपराधिक र निन्दनीय भन्दै कानुनी कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गर्ने घोषणा गरेको छ । साथै महासंघले एम्बाप्पे, फ्रान्सेली टोली तथा जातीय विभेदका सबै पीडितप्रति ऐक्यबद्धता जनाएको छ ।
यता, पाराग्वे फुटबल संघ र अन्तर्राष्ट्रिय फुटबल महासंघले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
फ्रान्सले अब विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । तर मैदानबाहिर भएको यो जातीय विभेदसम्बन्धी विवादले विश्व फुटबलमा नयाँ बहस सुरु गराएको छ ।









