काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलमा आजराती हुने रोमाञ्चक भिडन्तमा फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन् । बोस्टन रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १: ४५ बजेदेखि शुरु हुदैछ ।
यस खेलमा फ्रान्स लगातार तेस्रो विश्वकपको सेमिफाइनल यात्रा सुरक्षित गर्ने लक्ष्यमा छ भने मोरक्को फेरि एकपटक विश्व फुटबलमा इतिहास रच्ने अभियानमा मैदान उत्रिनेछ ।
सन् २०१८ को विश्व विजेता तथा सन् २०२२ को उपविजेता फ्रान्स यसपटक पनि उपाधिको बलियो दाबेदारका रूपमा अघि बढिरहेको छ । यदि मोरक्कोलाई पराजित गर्न सफल भए फ्रान्स लगातार तीन विश्वकपमा सेमिफाइनल पुग्ने विश्वकै तेस्रो राष्ट्र बन्नेछ । यसअघि यो उपलब्धि जर्मनी र ब्राजिलले मात्रै हासिल गरेका छन् ।
मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको टोलीले अन्तिम १६ को खेलमा पाराग्वेमाथि कठिन १-० को जित निकालेको थियो । निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको खेलमा फ्रान्सले लामो समय गोल गर्न नसके पनि ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई क्वार्टरफाइनल पुर्याएका थिए ।
एम्बाप्पे यस विश्वकपमा सात गोलसहित सर्वाधिक गोलकर्ताको दौडमा छन् । उनी नर्वेका इर्लिङ हालान्डसँग बराबरीमा छन् भने शीर्ष स्थानमा रहेका अर्जेन्टिनाका लियोनेल मेसीभन्दा एक गोलले मात्र पछाडि छन् । उनले दुई गोलका अवसर पनि सिर्जना गरेका छन् र प्रतियोगिताभरि फ्रान्सको आक्रमणको मुख्य आधार बनेका छन् । माइकल ओलिसेले पनि उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सको आक्रमणलाई थप धार दिएका छन्। ड्रिब्लिङ, अवसर सिर्जना र निर्णायक पासका हिसाबले उनी यस विश्वकपका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बनेका छन् । ब्राड्ली बारकोला र उस्मान डेम्बेलेको लयले पनि फ्रान्सलाई थप बलियो बनाएको छ । फ्रान्सका मिडफिल्डर ओरेलिया चुआमेनी अझै कम्मरको चोटबाट पूर्ण रूपमा निको भएका छैनन् । उनी खेल्न नसके मनु कोनेले पुनः अवसर पाउने सम्भावना छ । त्यस्तै, रक्षक विलियम सालिबाले पनि पाराग्वेविरुद्ध ढाडको समस्याबीच खेल पूरा गरेका थिए । उनी पूर्ण रूपमा फिट भए फ्रान्सको रक्षापंक्ति थप मजबुत हुनेछ । फ्रान्सले अहिले प्रतिस्पर्धात्मक खेलमा लगातार सात जित हात पारिसकेको छ भने पछिल्ला १२ खेलमध्ये ११ खेल जितेको छ । यस्तो उत्कृष्ट लयका कारण फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।
अर्कोतर्फ, मोरक्कोले अन्तिम १६ मा क्यानडालाई ३-० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । तर टोलीका प्रमुख आक्रमणकारी इस्माइल सैबारीको चोट प्रशिक्षक मोहम्मद उहबीका लागि ठूलो चिन्ताको विषय बनेको छ । समूह चरणका तीनै खेलमा गोल गरेका सैबारी क्यानडाविरुद्धको खेलमा तिघ्रामा चोट लागेपछि पहिलो हाफमै मैदान छाड्न बाध्य भएका थिए । उनी फिट नभए ब्राहिम दियाज र अच्राफ हाकिमीमाथि आक्रमणको जिम्मेवारी अझ बढ्नेछ । सन् २०२५ को अफ्रिकी राष्ट्र कप यता ब्राहिम दियाज मोरक्कोका लागि सबैभन्दा प्रभावकारी खेलाडी बनेका छन् । उनले विभिन्न प्रतियोगितामा ६ गोल र ४ गोलका अवसर सिर्जना गरेका छन् ।
रक्षक अच्राफ हाकिमी पनि आक्रमणमा उत्तिकै प्रभावशाली देखिएका छन् । पछिल्ला दुई विश्वकपमा उनले कुनै पनि रक्षकभन्दा बढी गोलका अवसर सिर्जना गरेका छन् । यस विश्वकपमा मात्र उनले १५ अवसर सिर्जना गर्दै नयाँ कीर्तिमान बनाएका छन् । मोरक्कोका अर्का रक्षक चादी रियाद पनि घुँडाको चोटका कारण पूर्ण रूपमा फिट छैनन् ।
फ्रान्स र मोरक्कोबीच विश्वकपमा भएको एकमात्र प्रतिस्पर्धात्मक भेट सन् २०२२ को सेमिफाइनल थियो । त्यस खेलमा फ्रान्स २-० ले विजयी हुँदै फाइनल पुगेको थियो । यी दुई टोलीबीच हालसम्म कुल ६ खेल भएका छन्। फ्रान्सले तीन खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएका छन् । मोरक्कोले अहिलेसम्म फ्रान्सलाई पराजित गर्न सकेको छैन ।
यद्यपि फ्रान्स अफ्रिकी टोलीविरुद्ध सतर्क रहनुपर्ने अवस्था छ । यस शताब्दीमा विश्वकपमा फ्रान्सले बेहोरेका हारमध्ये आधा हार अफ्रिकी राष्ट्रसँग भएको छ । त्यसैले मोरक्कोलाई कमजोर आँक्ने गल्ती फ्रान्सले गर्न सक्दैन ।
यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स आफ्नो उत्कृष्ट लय कायम राख्दै अर्को चरणमा पुग्ने लक्ष्यमा छ भने मोरक्को फेरि एकपटक विश्व फुटबलमा चमत्कार दोहोर्याउने आशामा मैदान उत्रिनेछ ।









