• २०८३ असार २६ शुक्रबार

अपाङ्गता परिचयपत्रको विवरण सच्याएर भत्ता बाड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अपाङ्गता परिचयपत्रको विवरण सच्याएर भत्ता बाड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले यस प्रकरणमा एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी संजय कुमार पाण्डेय, अपाङ्ग शाखाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र स्थानीय महेन्द्र राउत कुर्मीको मिलेमतोमा अपाङ्गता परिचयपत्रको सरकारी अभिलेखमा रहेको विवरण बदनियतपूर्वक सच्याइएको थियो । 

स्वास्थ्य परीक्षण प्रतिवेदन र अपाङ्गता समन्वय समितिको निर्णयअनुसार महेन्द्र राउत कुर्मी ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र पाउने योग्य भए पनि अभिलेखमा केरमेट गरी ‘क’ वर्गमा परिवर्तन गरिएको आयोगको आरोप छ ।

यसरी परिचयपत्रको वर्ग परिवर्तन गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था मिलाई महेन्द्र राउत कुर्मीलाई कुल एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको लाभ दिलाइएको आयोगले जनाएको छ। सरकारी अभिलेखमा झुटो विवरण तयार गरी प्रमाणित गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको निष्कर्ष छ।

अख्तियारले संजय कुमार पाण्डेय र अम्बिका महतो खुलवटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत भ्रष्टाचार, सरकारी कागजातमा हेरफेर तथा झुटो लिखत तयार गरेको कसुरमा बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ । यस्तै, महेन्द्र राउत कुर्मीलाई उक्त कसुरमा मतियार बनेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै