काठमाडौँ । चीनले अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलो पटक रकेटको सहायक भाग (बुस्टर) लाई समुद्रमा सुरक्षित रूपमा अवतरण गराउन सफल भएको छ । यो सफलताले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधिको विकासमा चीनले नयाँ फड्को मारेको मानिएको छ ।
चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट लङ मार्च–१० बी रकेट प्रक्षेपण गरेको थियो । उडान सुरु भएको करिब ६ मिनेटपछि सहायक भाग मुख्य रकेटबाट छुट्टिएर नियन्त्रित रूपमा समुद्रमा बनाइएको विशेष मञ्चमा अवतरण गरेको थियो । त्यहाँ जडान गरिएको विशेष जालले त्यसलाई सुरक्षित रूपमा समातेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
चीनका अनुसार रकेटको सहायक भागलाई यसरी नियन्त्रित रूपमा फिर्ता ल्याउने यो देशको पहिलो सफल परीक्षण हो । विज्ञहरूका अनुसार प्रत्येक प्रक्षेपणपछि सहायक भागलाई पुनः प्रयोग गर्न सकिए अन्तरिक्ष अभियानको लागत उल्लेखनीय रूपमा घट्नेछ भने प्रक्षेपणको गति पनि बढ्नेछ ।









