• २०८३ असार २७ शनिबार

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

रोजगारीका लागि काठमाडौंमा बस्दै आएका गणेश नेपालीको निधनलाई पार्टीले अत्यन्त दुःखद र राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाउने घटना भनेको छ ।

नेकपाले जारी गरेको विज्ञप्तिमा आत्मदाहको प्रयासपछि उनको जीवन रक्षा र मानवीय व्यवहार गर्नुपर्ने अवस्थामा राज्यका निकायबाट बल प्रयोग, जरिवानाको दबाब, धम्की तथा घिसारेर हिँडाउनेजस्ता अमानवीय व्यवहार भएको आरोप लगाएको छ । साथै निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरिएकाले यसले घटनालाई अझ गम्भीर र हृदयविदारक बनाएको पार्टीको भनाइ छ ।

पार्टीले राज्य र नागरिकबीचको विश्वास कमजोर हुँदै गएको, आम नागरिकका पीडा र आवाजप्रति राज्य संवेदनशील हुन नसकेको दाबी गरेको छ । यही कारण गणेश नेपालीजस्ता नागरिक चरम कदम चाल्न बाध्य भएको उल्लेख गर्दै सुकुम्बासी, भूमिहीन, श्रमिक, विपन्न, दलित, जनजाति, मधेसी, थारू, बेरोजगार युवा तथा अन्य उत्पीडित समुदायका समस्या तत्काल मानवीय र न्यायोचित ढंगले समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

नेकपाले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै संविधानले प्रत्याभूत गरेको नागरिकको सम्मान, सुरक्षा, रोजगारी र गरिमापूर्ण जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको पार्टीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै