• २०८३ असार २९ सोमबार

बलिवुडमा २५ वर्षपछि आमिर खान र आशुतोष गोवारिकरको सहकार्य

बलिवुडमा २५ वर्षपछि आमिर खान र आशुतोष गोवारिकरको सहकार्य

काठमाडौँ । अभिनेता आमिर खान र निर्देशक आशुतोष गोवारिकर २५ वर्षपछि फेरि एउटै चलचित्रमा सहकार्य गर्ने भएका छन् । चर्चित चलचित्र लगान प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा नयाँ परियोजनाको तयारी अघि बढाइएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ चलचित्रको नाम ललकारा राखिएको छ । यो कुनै व्यक्तिको जीवनीमा आधारित नभई सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट क्रिकेट शृङ्खलाबाट प्रेरित कथा हुनेछ ।

चलचित्रको कथा दंगलका लेखक पियुष गुप्ता र निल बट्टे सन्नाटाका लेखक नीरज सिंहले तयार पारेका हुन् । चलचित्रमा खेलकुदसँगै प्रतिस्पर्धा, मित्रता, विभाजन र राष्ट्रप्रेमका विषयलाई प्रस्तुत गरिने बताइएको छ ।

यो चलचित्र फरहान अख्तर र रितेश सिधवानीको निर्माण कम्पनीले निर्माण गर्नेछ । निर्देशक राजकुमार हिरानी पनि यस परियोजनामा निर्माता रूपमा जोडिएका छन् ।

आमिर खानले यसअघि फरहान अख्तरसँग दिल चाहता है र राजकुमार हिरानीसँग थ्री इडियट्स तथा पीके जस्ता सफल चलचित्रमा काम गरिसकेका छन् ।

यसअघि सन् २०१९ मै ललकारा निर्माण गर्ने तयारी भएको र त्यसबेला राजकुमार हिरानीलाई निर्देशनको प्रस्ताव गरिएको थियो । मुख्य भूमिकाका लागि अभिनेता शाहरुख खानको नामसमेत प्रारम्भिक छलफलमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उता, आमिर खान थ्री इडियट्सको सिक्वेलमा पनि अभिनय गर्ने तयारीमा छन् । तर त्यस चलचित्रको कथा लेख्ने काम अझै जारी रहेकाले उनले पहिले ललकाराको काम अघि बढाउने निर्णय गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै