• २०८३ असार २९ सोमबार

विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

विश्वकप फाइनलको दौडमा चार देश, को छ अगाडी ?

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको १०० खेल पूरा गर्दै अन्तिम चरणमा प्रवेश गरेको छ । अब उपाधिका लागि फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र प्रतिस्पर्धामा बाँकी छन् । विश्लेषकहरुले अहिलेसम्मको खेल विश्लेषण गर्दा फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेको छ ।

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हरायो । स्पेनले अतिरिक्त समयमा मिकेल मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई पराजित गर्‍यो । इङ्ग्ल्यान्डले जुड बेलिङ्घमको दुई गोलमा नर्वेमाथि पुनरागमन जित निकाल्यो भने अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

विशेष कुरा, प्रतियोगिता सुरु हुनुअघि उपाधिका शीर्ष चार दाबेदारका रूपमा छनोट गरिएका चारै टोली सेमिफाइनलमा पुगेका छन् । 

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्स विश्वकपको सबै भन्दा ठुलो दाबेदारको रुपमा सेमिफाइनलमा स्पेनको सामना गर्ने तयारीमा रहेको छ । मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको टोलीका लागि किलियन एम्बाप्पे र उस्मान डेम्बेले उत्कृष्ट लयमा छन् । एम्बाप्पेले प्रतियोगितामा आठ गोल गरेका छन् भने डेम्बेलेले पाँच गोल गरेका छन् । विश्वकपको एउटै संस्करणमा पाँच वा सोभन्दा बढी गोल गर्ने दुई खेलाडी भएको टोली बन्ने क्रममा फ्रान्स पछिल्लो ५० वर्षमा ब्राजिलपछि दोस्रो राष्ट्र बनेको छ ।

अर्कोतर्फ स्पेनले यस विश्वकपमा पहिलो पटक बेल्जियमविरुद्ध गोल खाएको थियो । त्यसअघि टोलीले लगातार ६४९ मिनेटसम्म कुनै गोल खाएको थिएन । तर फेरि पनि मिकेल मेरिनोले बेन्चबाट आएर निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए । सन् २०२४ मार्चयता स्पेन लगातार ३६ खेल अपराजित छ । टोलीले यस अवधिमा २७ जित र ९ बराबरी खेलेको छ । स्पेनलाई फ्रान्सपछि विश्वकप जित्ने दोस्रो ठूलो दाबेदार रुपमा हेरिएको छ ।

त्यसैगरी इङ्ग्ल्यान्डले नर्वेविरुद्ध पुनरागमन जित निकाल्दा जुड बेलिङ्घम नायक बने । उनले दुई गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए । अन्तिम १६ मा मेक्सिकोविरुद्ध पनि दुई गोल गरेका बेलिङ्घम विश्वकपको नकआउट चरणमा लगातार दुई खेलमा दुई वा बढी गोल गर्ने सन् १९८६ मा डिएगो म्याराडोनापछि पहिलो खेलाडी बनेका छन् ।

इङ्ग्ल्यान्ड विश्वकप जित्ने सम्भावना सेमिफाइनलमा पुगेका चार देशमा तेस्रो धेरै रहेको विश्लेषण गरिएको छ । इङ्ग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ।

साबिक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । लियोनेल मेसीले यस प्रतियोगितामा पहिलो पटक गोल गर्न नसके पनि उनको कर्नरबाट एलेक्सिस म्याक एलिस्टरले गोल गरेका थिए । त्यसपछि जुलियन आल्भारेज र लाउतारो मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरेका थिए । विश्वकप इतिहासमा अर्जेन्टिनाले सबैभन्दा धेरै १३ पटक अतिरिक्त समय खेलेको छ, जसमा ११ पटक विजयी भएको छ ।

यद्यपि विभिन्न आँकडाको विश्लेषणअनुसार बाँकी चार टोलीमध्ये अर्जेन्टिना उपाधिको सबैभन्दा कमजोर दाबेदार मानिएको छ ।

यस पटकको विश्वकपमा सेमिफाइनल पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन् । विश्वकप इतिहासमा यस्तो तेस्रो पटक मात्र भएको हो । यसअघि सन् १९७० र १९९० मा पनि सेमिफाइनलमा चारै पूर्व विजेता राष्ट्र पुगेका थिए । अब सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै