• २०८३ असार ३० मंगलबार

काठमाडौं उपत्यकासहित धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं उपत्यकासहित धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका अधिकांश नदी तथा खोलामा आगामी तीन दिनसम्म बहाव बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी आज र भोलि धेरै नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने तथा पहाडी जिल्लाका साना नदी र खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदी प्रणालीका अधिकांश नदीमा आज र भोलि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । केही नदीमा पर्सिसम्म पनि बहाव बढ्ने क्रम जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि सातै प्रदेशका साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान हुने स्थान तथा खोल्सानजिक बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै