काठमाडौं । आकर्षक रोजगारीको विज्ञापनमार्फत प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपाली र बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकमा कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी पाइने भन्दै भ्रामक विज्ञापन राखेर सेवाग्राहीलाई शंकास्पद मोबाइल अनुप्रयोग डाउनलोड गर्न लगाई ठगी गर्ने गरेको पाइएको हो ।
पीडितको बैंक खाताबाट विद्युतीय माध्यम प्रयोग गरी रकम अन्य खातामा सारेर ठगी गरेको उजुरी परेपछि साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न देखिएका पाँच जना नेपाली तथा बङ्गलादेशी नागरिकलाई साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २१ वर्षीय सुभाषकुमार मण्डल तथा चार जना बङ्गलादेशी नागरिक रहेका छन् । पक्राउ परेका बङ्गलादेशी नागरिकहरूमा २५ वर्षीय एमडी जुबायर अहमद, २६ वर्षीय एमडी नुर आलम, २४ वर्षीय एमडी नासिम मिया र २७ वर्षीया एमडी रानी कमल रहेका छन् ।
उनीहरूलाई असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गैह्रीबाट बङ्गलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी राखिएको ब्युरोले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरू अनलाइन ठगीसँगै अवैध रूपमा बाइनान्समार्फत क्रिप्टो तथा युएसडीटी कारोबारमा समेत संलग्न रहेको देखिएको साइबर ब्युरोले जनाएको छ ।









