काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ नयाँदिल्लीको जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थी र प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले 'विद्यार्थी एकता जिन्दावाद' का नारा लगाउँदै राष्ट्रिय गान गाएका थिए । साथै, नीट प्रश्नपत्र चुहावट प्रकरणपछि ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो ।
यसैबीच, भारत सरकार र आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टीबीच वार्ता सुरु भएको छ । वार्तामा केन्द्र सरकारका तर्फबाट मन्त्री जेपी नड्डा, जितेन्द्र सिंह, सौरभ दास र आशुतोष रांका सहभागी भएका छन् ।
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले मन्त्रीको राजीनामा आन्दोलनको पहिलो सफलता भएको बताए । उनले अब पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति, प्रदर्शनका क्रममा बल प्रयोग गर्ने प्रहरीमाथि कारबाही तथा आन्दोलनकारी विद्यार्थीमाथिका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राखे यथावत रहेको बताएका छन् ।
दीपकेले लोकतान्त्रिक आन्दोलनबाट सरकारलाई झुकाउन सफल भएको दाबी गर्दै आन्दोलनले थप सुधार र न्यायको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहने बताए ।
धर्मेन्द्र प्रधान सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार गठन भएयता जनदबाबका कारण राजीनामा दिन बाध्य हुने पहिलो केन्द्रीय मन्त्री बनेका छन् । यसअघि सन् २०१८ मा विदेश राज्यमन्त्री एम.जे. अकबरले यौन दुर्व्यवहारसम्बन्धी आरोपपछि पद छाडेका थिए ।
यसैबीच, भारतीय सञ्चारमाध्यमका अनुसार २९ वर्षअघि ओडिशामा भएको प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध धर्मेन्द्र प्रधान स्वयं पनि आन्दोलनमा सहभागी भएका थिए । सन् १९९७ मा भएको उक्त प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा उनी गम्भीर घाइते भएका थिए र शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै हड्डीसमेत भाँचिएको थियो ।









