काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जारी सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिन सक्ने स्पष्ट संकेत दिएका छन् । ४१ वर्षीय रोनाल्डोले आफ्नो खेलाडी जीवनको अन्त्य नजिकिएको बताउँदै ‘सायद यो मेरो अन्तिम वर्ष हो’ भनेका छन् ।
अल नासरसँग रोनाल्डोको सम्झौता सन् २०२७ को जुनसम्म रहेको छ । यसअघि पनि उनले सन्यास नजिकिएको स्वीकार गर्दै आएका थिए । तर उनले खेलाडी जीवन कहिले अन्त्य गर्ने भन्ने निश्चित समय भने बताएका थिएनन् ।
भोग म्यागजिनमा प्रकाशित अन्तर्वार्तामा रोनाल्डोले भने- 'सायद यो मेरो फुटबलको अन्तिम वर्ष हो र म शानदार विरासत छाड्न चाहन्छु ।'
रोनाल्डोले गत नोभेम्बरमा आफू अझै ‘एक वा दुई वर्ष’ खेल्ने अपेक्षा गरेको बताएका थिए । उनले सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने पनि पुष्टि गरेका थिए । गत महिना भएको विश्वकपमा पोर्चुगल स्पेनसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । त्यसपछि पनि रोनाल्डोले आफूले ठ्याक्कै कहिले सन्यास लिने भन्ने खुलाएका थिएनन् । तर पछिल्लो अभिव्यक्तिमा उनले फुटबलपछिको जीवनका लागि तयारी सुरु गरिसकेको बताएका छन् । परिवारसँग अझ धेरै समय बिताउने योजनामा रहेको पनि उनले बताए । रोनाल्डोले भने- 'मैले आफ्नो भविष्यको सबै योजना बनाइसकेको छु । मलाई व्यस्त राख्ने धेरै कुरा छन्, त्यसैले एउटा कुरा मात्र भन्न गाह्रो छ ।'
उनले फुटबल छाडेपछि आफ्नो समय विभिन्न गतिविधिमा बिताउनुपर्ने बताए । 'फुटबलले ठूलो खालीपन छाड्न सक्छ, त्यसैले त्यो समय एउटै कुराले होइन, विभिन्न तरिकाले भर्नुपर्छ । अझ धेरै रमाइलो गर्ने, धेरै यात्रा गर्ने, आफूलाई मन पर्ने प्याडेल हेर्ने र खेल्ने तथा मैले कमाएको, हामीले कमाएको-चिजको आनन्द लिइरहने,' रोनाल्डोले भने । उनले आफ्नो फुटबल यात्रामा गरेको त्यागलाई पनि सम्झिए । 'आखिर यो २५ वर्षको यात्रा हो, जसमा धेरै त्याग गरिएको छ,' उनले भने ।
रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गर्नुभन्दा पाँच दिनअघि उक्त अन्तर्वार्ता दिएका थिए । पोर्चुगलको कास्काइसमा भएको विवाहको पाँच दिनअघि आएको उनको यस्तो अभिव्यक्तिले फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीमध्ये एकको खेलाडी जीवन अन्त्यतर्फ अघि बढेको संकेत गरेको छ ।
रोनाल्डोको यस्तो भनाइ उनका लामो समयका प्रतिद्वन्द्वी लियोनल मेसीले पनि आफ्नो खेलाडी जीवनबारे अनिश्चितता व्यक्त गरेको केही समयपछि आएको हो । मेसीले यसै साता आफ्ना बुबा होर्गे मेसीको निधनपछि आफूले अझ कति समय फुटबल खेल्ने भन्ने निश्चित नभएको बताएका थिए ।









