काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ । यो उनको वर्तमान कार्यकालको सबैभन्दा न्यून स्तर हो ।
सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका छन् ।
यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर ३५ प्रतिशत रहेको थियो । पछिल्लो सर्वेक्षणमा त्यो दर थप दुई प्रतिशतले घटेको हो । सर्वेक्षणका अनुसार ३३ प्रतिशत अनुमोदन दर ट्रम्पको पहिलो कार्यकालमा देखिएको न्यूनतम स्तरसँग पनि बराबर हो । पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा उनको अनुमोदन दर ३३ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले इरानसँगको युद्धलाई लिएर अमेरिकी नागरिकमा रहेको चिन्ता पनि देखाएको छ । करिब ८० प्रतिशत सहभागीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म चल्न सक्ने आशंका व्यक्त गरेका छन् ।









