• २०८३ भदौ ४ बिहीबार

नासाको स्विफ्ट अन्तरिक्ष दूरबिनको यात्रा अन्त्य, उद्धार अभियान असफल भएपछि स्थगित

नासाको स्विफ्ट अन्तरिक्ष दूरबिनको यात्रा अन्त्य, उद्धार अभियान असफल भएपछि स्थगित

काठमाडौँ । ब्रह्माण्डका रहस्य तथा ताराका विस्फोटजस्ता विशाल खगोलीय घटनाको अध्ययन गर्दै आएको अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको ‘स्विफ्ट’ अन्तरिक्ष दूरबिनको यात्रा अब अन्त्यतिर पुगेको छ। पृथ्वीको कक्षामा लगातार तल झरिरहेको दूरबिनलाई बचाउने उद्देश्यले सुरु गरिएको उद्धार अभियान अब औपचारिक रूपमा रद्द गरिएको छ ।

यससँगै दुई दशकदेखि अन्तरिक्ष विज्ञानमा योगदान दिँदै आएको स्विफ्ट यसै वर्ष पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा जलेर नष्ट हुने निश्चित भएको छ । नासा र क्याटालिस्ट स्पेस टेक्नोलोजिजले उद्धार अभियानका लागि पठाएको ‘लिङ्क’ अन्तरिक्षयान प्रक्षेपण भएको करिब एक महिनापछि अभियान रद्द गरिएको हो । क्याटालिस्टका अनुसार अब लिङ्कले स्विफ्टलाई नियन्त्रणमा लिएर माथिल्लो कक्षमा लैजाने प्रयास गर्ने छैन ।

अन्तरिक्षयानको नियन्त्रण प्रणालीमा देखिएको गम्भीर प्राविधिक समस्याका कारण अभियान रोकिएको हो । नासाले स्विफ्टलाई सुरक्षित र लामो समयसम्म टिक्ने कक्षमा पुर्‍याउने उद्देश्यले क्याटालिस्टलाई ३ करोड अमेरिकी डलर भुक्तानी गरेको थियो ।

तर जुलाईको सुरुवातमा प्रक्षेपण भएको केही सातामै लिङ्क अन्तरिक्षयान अनियन्त्रित रूपमा घुम्न थालेको थियो । उडान नियन्त्रण टोलीले त्यसको गति केही हदसम्म नियन्त्रणमा लिन सफल भए पनि अन्तरिक्षमा सही दिशा र स्थान कायम गर्न निरन्तर समस्या देखिएको थियो ।

सन् २००४ मा प्रक्षेपण गरिएको स्विफ्टले विगत दुई दशकदेखि गामा किरणका विस्फोट तथा ताराका विस्फोटजस्ता शक्तिशाली खगोलीय घटनाको अध्ययन गर्दै आएको थियो । तर सूर्यमा देखिएको अत्यधिक तीव्र गतिविधिका कारण स्विफ्टले अनुमान गरिएभन्दा निकै छिटो आफ्नो कक्षीय उचाइ गुमाउन थालेको थियो । गत सातासम्म यो पृथ्वीको सतहबाट करिब ३४७ किलोमिटरको उचाइमा मात्र परिक्रमा गरिरहेको थियो । कक्षीय उचाइ तीव्र रूपमा घट्न नदिन यसै वर्षको सुरुवातमा स्विफ्टका वैज्ञानिक उपकरणसमेत बन्द गरिएको थियो । नासाका प्रशासक जारेड इसाकम्यानले अभियान अपेक्षाअनुसार सफल हुन नसके पनि स्विफ्टलाई बचाउने प्रयास गर्नु सही निर्णय भएको बताएका छन् ।

क्याटालिस्टले भने भविष्यका उद्धार अभियानका लागि आफ्नो प्राविधिक क्षमता परीक्षण गर्न लिङ्कलाई स्विफ्टको नजिकै सञ्चालनमा राख्ने जनाएको छ । क्याटालिस्टका प्रमुख कार्यकारी गोनही लीले यो एक उच्च जोखिमपूर्ण तथा महत्वाकांक्षी अभियान भएको र एक वर्षभन्दा कम समयमै यसको तयारी गरिएको बताएका छन् ।

स्विफ्टको उद्धार अभियान असफल भएपछि नासाको अर्को महत्वपूर्ण अन्तरिक्ष दूरबिन ‘हबल’को भविष्यलाई लिएर पनि प्रश्न उठेको छ । ३६ वर्ष पुरानो हबल अन्तरिक्ष दूरबिनको कक्षीय उचाइ पनि क्रमशः घटिरहेको छ । हालै सूर्यबाट निस्किएका शक्तिशाली सौर्य आँधीका कारण यसको कक्षामा थप प्रभाव परेको छ । स्विफ्टलाई बचाउने अभियान असफल भएपछि हबलको कक्षीय उचाइ बढाएर यसको सेवा अवधि लम्ब्याउन नासाले भविष्यमा यस्तै ठूलो उद्धार अभियान सञ्चालन गर्छ कि गर्दैन भन्ने विषय स्पष्ट भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै