• २०८३ भदौ ५ शुक्रबार

बागमती प्रकरणमा अध्यक्ष लिङदेनसँग कमल थापा असन्तुष्ट, अधिनायकवादी बनेको आरोप

बागमती प्रकरणमा अध्यक्ष लिङदेनसँग कमल थापा असन्तुष्ट, अधिनायकवादी बनेको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा देखिएको विवादबारे पूर्वअध्यक्ष कमल थापाले पार्टीभित्र संवादहीनता र गुटबन्दी बढ्दै गएको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव आएपछि आफू असन्तुष्ट भएको कमल थापाले बताएका छन् । उनले आफू, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायत नेताले हतारमा कारबाही नगरी अध्ययन तथा छानबिन गर्न आग्रह गरेको बताए ।

थापाले बैठकमा पार्टीभित्र सरकारमा सहभागी हुने वा नहुने नीति, प्रदेश सभामा सभामुख र उपसभामुख पद लिएको विषय तथा आन्दोलनपछि सांसदहरूले राजीनामा दिने भनिएको निर्णय कार्यान्वयन नभएको विषयमा समेत समीक्षा गर्न आग्रह गरिएको बताएका छन् । 

उनले भने- '​यस सम्बन्धमा म लगायत पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा र कार्यसम्पादन समितिका सदस्य अर्जुन राई लगायतले पटक-पटक विनम्रतापूर्वक अनुरोध गर्‍यौँ, हतारमा कारबाही गरेर जनताबाट निर्वाचित सांसदलाई निष्कासन गर्ने जस्तो कठोर निर्णय नगरौँ। पार्टीको विधि र पद्धतिअनुसार पहिले अध्ययन तथा छानबिन गरौँ, अनि मात्र आवश्यक निर्णयमा पुगौँ ।'

थापाले ​कुनै पनि तहको सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे स्पष्ट नीतिगत समीक्षा गर्न र पार्टीको निर्देशनविपरीत विगतमा प्रदेश सभामा सभामुख र उपसभामुख पद लिएको विषयमा समीक्षा गर्न बैठकमा आग्रह गरेको भएपनि नेतृत्वले नसुनेको गुनासो गरेका छन् ।

कमल थापाले कम्तीमा तीन दिन समय दिएर प्रदेश सभा सदस्यहरूसँग परामर्श गर्नुपर्ने सुझाव दिए पनि त्यसलाई बेवास्ता गर्दै उद्धव थापालाई एकपक्षीय रूपमा निष्कासन गरिएको दाबी गरेका छन् ।

उनले ‘कारबाही र निष्कासन मात्र समस्याको समाधान होइन’ भन्दै पार्टीभित्र गम्भीर संवादहीनता रहेको बताए ।  थापाले 'म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ' भन्ने अधिनायकवादी मान्यता पार्टीभित्र हाबी हुँदै गएको बताउदै यसै पनि पार्टी कमजोर बन्दै गइरहेको अवस्थामा दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्ने बताएका छन् ।

विहिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयमा थापाले असहमति जनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै