काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि 'नीति, संगठन र नेतृत्व' (रास्वपा कार्यशाला), श्रृंखला-१ आज सकिदैछ ।
काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबारदेखि सुरु भएको दुई दिने कार्यशाला आज सकिन लागेको हो ।
कार्यशालालाई अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेको रास्वपाले जानकारी दिएको छ । दोस्रो दिन आज पार्टीको सांगठानिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रुपमा एआईको प्रयोग गर्ने तरिका, २१औ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ ।
यसअघि कार्यशालामा पहिलो दिन अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरुका बारेमा बोलेका थिए भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मुल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रुपरेखा बारे प्रस्तुति दिएका थिए । त्यस्तै कार्यशालामा बजेट निर्माणका विज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे समेत प्रस्तुति भएको बताइएको छ ।
आज कार्यशालाको समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको जानकारी दिइएको छ ।









