काठमाडौं । हिमाली क्षेत्रमा आएको विपद्बारे नेपाललाई पूर्वसूचना दिन चीन असफल भएको भन्दै नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ । दूतावासले चीनले उपलब्ध प्रविधि र स्रोतको सीमाभित्र रहेर निरन्तर निगरानी, अध्ययन तथा जोखिम मूल्यांकन गर्दै महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गर्दै आएको दाबी गरेको छ ।
दूतावासले विशेष रूपमा अगस्ट २६ गते चीनको मौसम प्रशासनले नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक गरेको जनाएको छ । बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन तथा तथ्यांक आदानप्रदान गरिएको थियो। चीनले हाल पनि हिमताल तथा अन्य जल–मौसमसम्बन्धी तथ्यांकसहित आवश्यक सूचना नेपालसँग निरन्तर साझा गरिरहेको जनाएको छ ।
चीनको मौसम प्रशासनले नेपाललाई ‘माजु’ नामक चिनियाँ बौद्धिक मौसम पूर्वचेतावनी प्रणालीअन्तर्गत प्रारम्भिक विशेष सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ । यसले सीमापार विपद्को सामना गर्ने दुवै देशको क्षमता बढाउन सहयोग गर्ने चीनको भनाइ छ ।
दूतावासले हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान र पूर्वानुमान निकै जटिल रहेको पनि स्पष्ट पारेको छ । चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनअनुसार हिमाली क्षेत्रमा जोखिमका स्थानहरू निकै छरिएका छन्। चार हजारदेखि पाँच हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका धेरै हिमताल तथा हिम–चट्टानका संरचनामा नियमित रूपमा स्थलगत अध्ययन गर्न कठिन हुने चीनले जनाएको छ ।
त्यस्ता दुर्गम र जटिल भूभागमा उपग्रह तथा अन्य प्रविधिबाट गरिने निगरानीमा समेत सीमितता रहने दूतावासको भनाइ छ । विशेषगरी ठाडा पहाड र अत्यन्त जटिल भूभागमा तस्वीरको शुद्धता तथा सूक्ष्म निगरानी अझै अन्तर्राष्ट्रिय चुनौतीका रूपमा रहेको जनाइएको छ ।
दूतावासका अनुसार नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर समन्वय हुँदै आएको उल्लेख गर्दै यसै वर्षको जेठमा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागका प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान संयन्त्र निर्माणका विषयमा महत्वपूर्ण छलफल गरेको बताएको छ ।
त्यस्तै, अगस्ट महिनामा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय विपद् तथा वातावरणसम्बन्धी संस्थाको टोली नेपाल आएर वैज्ञानिक अध्ययन तथा अनुभव आदानप्रदान गरेको दूतावासले जनाएको छ। टोलीले हिमतालको निगरानीसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको थियो ।
दूतावासले २०७२ सालको भूकम्पले नेपालको दक्षिणी हिमाली क्षेत्रमा चट्टानका संरचना प्रभावित बनाएकाले हिमाली चट्टानको स्थिरतासम्बन्धी अनिश्चितता थप बढेको समेत उल्लेख गरेको छ। यस्तो अवस्थामा चिनियाँ विज्ञ टोलीले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निगरानी, मूल्यांकन र अध्ययन गर्दै आएको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै साझा गरेको दाबी गरिएको छ ।
चिनियाँ दूतावासले विपद् व्यवस्थापनमा नेपालसँगको सूचना आदानप्रदान र सहकार्यलाई आगामी दिनमा अझ गहिरो बनाउने विश्वास व्यक्त गर्दै दुवै देशका नागरिकको सुरक्षा र हितका लागि सीमापार विपद् व्यवस्थापनमा निरन्तर सहकार्य आवश्यक रहेको दूतावासले जनाएको छ ।









