• २०८३ भदौ १५ सोमबार

भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ४९ वडा प्रभावित

भोटेकोशी बाढीबाट चार जिल्लाका १५ स्थानीय तहका ४९ वडा प्रभावित

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको विनाशकारी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका ४९ वडा प्रभावित भएको जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपालीको हवाई उद्धार भइसकेको छ । अझै पनि जोखिममा रहेका तथा सुरक्षित स्थानमा रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले अत्यावश्यक खोज, उद्धार र राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ । अन्य प्रयोजनका लागि भने उपलब्ध वैकल्पिक सडकमार्ग प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्रभावित स्थानीय तह र वडा यसप्रकार छन् ।

रसुवा

उत्तरगया गाउँपालिका — वडा नं. १, २, ३, ४ र ५

गोसाइँकुण्ड गाउँपालिका — वडा नं. २, ५, १ र ३

आमाछोदिङ्मो गाउँपालिका — वडा नं. १

कालिका गाउँपालिका — वडा नं. १

नुवाकोट

तारकेश्वर गाउँपालिका — वडा नं. ४ र २

किस्पाङ गाउँपालिका — वडा नं. ५

विदुर नगरपालिका — वडा नं. १, ४, ५, ९ र १०

बेलकोटगढी नगरपालिका — वडा नं. ५, ७ र ८

धादिङ

गल्छी गाउँपालिका — वडा नं. ६, ४, ८, १ र २

गजुरी गाउँपालिका — वडा नं. १, २, ५ र ६

बेनीघाट रोराङ गाउँपालिका — वडा नं. ३, ५, ७, ९ र १०

सिद्धलेक गाउँपालिका — वडा नं. ३, ४, ६ र ७

गोरखा

गण्डकी गाउँपालिका — वडा नं. १, २, ६, ७ र ८

तनहुँ

देवघाट गाउँपालिका — वडा नं. ४ र ५

आँबुखैरेनी गाउँपालिका — वडा नं. ४ र ५

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सीमित हवाई साधनको प्रभावकारी प्रयोग गर्न र सम्भव भएका स्थानमा सडकमार्गबाट आवतजावत गर्न आग्रह गरेको छ । यसैबीच, धादिङतर्फ जाने वैकल्पिक मार्गका रूपमा धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार हुँदै मलेखु तथा पृथ्वी राजमार्गतर्फ जान सकिने जनाएको छ ।

रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा बिदुर–ढिकुरे–चौघडा–आप्र–नर्जे–ल्याङ–समरमथली–पाटीभञ्ज्याङ हुँदै बोगटीटार तथा पासाङ ल्हामु राजमार्गबाट कालिकास्थान–धुन्चे जाने बाटो प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै