झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित बहुवन सामुदायिक वनको भित्री सडकखण्डबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको हुक्कामा प्रयोग हुने फ्लेवरसहित भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको छ ।
उक्त फ्लेवर तथा गाडी सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रुपले भन्सार छली डब्लु बी ७४ एस ३३६५ नम्बरको भेनमा राखी नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ बराबरको ८ कार्टुन हुक्कामा प्रयोग हुने फ्लेवर बरामद गरिएको हो ।
उक्त सामान ल्याउने व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ सामानसहितको उक्त गाडी सोही ठाउँमा छाडी फरार भएको थियो ।
बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाईएको र बरामद हुक्कामा प्रयोग हुने फ्लेवरको ५ लाख र गाडीको १० लाख रुपैयाँ गरी जम्मा भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।









