काठमाडौँ । पूर्व बालोन डिओर विजेता करिम बेन्जमाले साउदी क्लब अल हिलाल छाडेका छन् । प्रतिद्वन्द्वी क्लब अल इत्तिहादबाट अल हिलाल पुगेको छ महिनामै बेन्जेमाले क्लब छाडेका हुन् ।
अल हिलालले विज्ञप्ति जारी गर्दै बेन्जमासँगको सम्झौता आपसी सहमतिमा अन्त्य गरिएको जनाएको छ । ३८ वर्षीय बेन्जमा अब अर्को क्लबमा आबद्ध हुनेछन् वा खेलजीवनबाटै संन्यास लिनेछन् भन्ने स्पष्ट भएको छैन ।
बेन्जमा सन् २०२३ को जुनमा १४ वर्ष रियल मड्रिडमा बिताएपछि साउदी अरब पुगेका थिए । उनले रियलका लागि ६४८ खेलमा ३५४ गोल गरेका थिए ।
रियल मड्रिडमा रहँदा उनले क्लबको कीर्तिमानी २५ उपाधि जितेका थिए, जसमा पाँच च्याम्पियन्स लिग उपाधि पनि समावेश छन् । फ्रान्सका लागि बेन्जेमाले ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।
बेन्जमाको बहिर्गमनको घोषणा इंग्ल्यान्डका स्ट्राइकर ओली वाट्किन्सले पनि एस्टन भिल्ला छाडेर अल हिलालमा आबद्ध भएको केही समयपछि भएको हो ।









