काठमाडौं । राष्ट्रिय सभाबाट भोटेकोशी बाढी सम्बन्धि विशेष प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको सभामा राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धान्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ भने घाइतेहरूको निशु:ल्क उपचार गराउन आग्रह गरिएको छ ।
साथै शवको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ । साथै भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गर्दै स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ । त्यस्तै, प्रस्तावमा विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।
यसअघि बैठकमा शुन्य समयमा सरकारले राहत र उद्धारमा ध्यान नदिएको भन्दै स्थानीय तहको समन्यवमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।









