काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणमा ६ लाख ८० हजार ५९२ रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय, गौरबाट ‘रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण’ का लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो ।
निर्माणस्थलको वास्तविक काम र नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनमा उल्लेख गरिएको परिमाण तुलना गर्दा वास्तविकभन्दा ६ लाख ८० हजार ५९२ रुपैयाँ बढी काम भएको देखाई भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदीप प्रकाश तिमल्सेना र इन्जिनियर नितिशकुमार पटेलविरुद्ध बिगोबमोजिम जरिवाना, बिगो असुल तथा कैद सजायको मागदाबी गरेको छ ।
त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ ।
आयोगले निर्धारित मापदण्डविपरीत फिल्डमा नभएको कामलाई भएको देखाई गलत नापी तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी झुट्टा बिल–भरपाईका आधारमा भुक्तानी दिइएको दाबी गरेको छ ।









