काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको सुझाव र अपनत्व समेटेर शिक्षा ऐन चाँडै अन्तिम रूप दिने बताएका छन् ।
निजी विद्यालय सञ्चालकका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग मंगलबार भएको अन्तरक्रियामा मन्त्री पोखरेलले ऐन निर्माणका क्रममा प्राप्त राय–सुझावलाई समेटेर ऐनलाई परिपक्व बनाइने बताए ।
उनले सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो बनाएर गुणस्तरीय तथा व्यवहारिक शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रका सबै सरोकारवालालाई सरकारले साझेदारका रूपमा लिएको उनको भनाइ थियो ।
मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप निर्माण गर्दा सरोकारवालाका सुझाव समेटिने बताए। राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष र व्यवहारिक बनाउनेतर्फ पनि ध्यान दिइने उनले बताए ।
कार्यक्रममा निजी विद्यालय सञ्चालकका प्रतिनिधिले नयाँ शिक्षा ऐनले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने, पाठ्यक्रमलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने तथा प्रारम्भिक बाल विकास शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
मन्त्रालयले शिक्षा ऐन, राष्ट्रिय पाठ्यक्रम प्रारूप र पछिल्लो प्राकृतिक विपत्तिका विषयमा निजी विद्यालय सञ्चालकसँग छलफल गरेको हो । कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, एपिनलगायत संस्थाका प्रतिनिधिको सहभागिता थियो ।









