काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ ।
४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ । उनीहरु अहिले रसुवा पुगिसकेका छन् ।
टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषमा पुरिएका व्यक्तिको आवाज तथा दृश्यबाट पहिचान गर्न सक्ने उपकरण र ताप पहिचान गर्ने उपकरण ल्याएको कोरियन टाइम्सले उल्लेख गरेको छ ।
भदौ १० मा रसुवामा आएको बाढीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणस्थलबाट नौ कोरियाली नागरिक बेपत्ता भएका थिए । तीमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया दक्षिण-पूर्वी विद्युत् कम्पनीका कर्मचारी रहेका छन् । नेपाली सुरक्षाकर्मी तथा कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, उद्धार कुकुर र अन्य उपकरण प्रयोग गरी रसुवाको धुन्चे क्षेत्रमा खोजी गरिरहेका छन् । कठिन भौगोलिक अवस्था, ठूलो क्षेत्रफल तथा माटो र भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
दक्षिण कोरियाली अधिकारीहरूले बेपत्ताहरूको मोबाइल फोनको स्थान पहिचान गर्ने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको बताएका छन् । कम्पनीहरूले समेत हवाई खोजी तीव्र बनाएका छन् । पछिल्लो अपडेट अनुसार भोटेकोशी बाढीपछि ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी अझै सम्पर्कविहिन रहेका छन् ।









