• २०८३ भदौ २० शनिबार

थाइल्यान्डका राजा–रानीद्वारा नेपालका बाढीपीडितका लागि राहत सामग्री प्रदान

थाइल्यान्डका राजा–रानीद्वारा नेपालका बाढीपीडितका लागि राहत सामग्री प्रदान

काठमाडौँ । थाइल्यान्डका राजा र रानीले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि मानवीय राहत सामग्री प्रदान गरेका छन् ।

नेपाल सरकारको प्राथमिकताका आधारमा तयार पारिएको राहत सामग्रीमा पाल, सुत्ने झोला, व्यक्तिगत सुरक्षा सामग्री, विद्युत् उत्पादन गर्ने यन्त्रलगायत आवश्यक सामग्री रहेका छन् । राहत सामग्रीको कुल तौल करिब ६.४४ मेट्रिक टन रहेको छ ।

बैंककस्थित डोन मुआङ विमानस्थलमा आज आयोजित हस्तान्तरण कार्यक्रममा थाइल्यान्डका राजपरिषद्का सदस्यले राजा–रानीको प्रतिनिधित्व गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

राहत सामग्री आगामी सेप्टेम्बर ६ मा विशेष उडानमार्फत बैंककबाट काठमाडौँ ल्याई प्रभावित समुदायमा वितरण गरिनेछ ।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले थाइल्यान्डका राजा–रानीप्रति सहयोगका लागि आभार व्यक्त गरेका थिए । उनले थाइल्यान्डको राजदरबार, सरकार, वायुसेना तथा थाइल्यान्डका जनताले विपद्को समयमा गरेको मानवीय सहयोगप्रति समेत धन्यवाद दिएका छन् ।

राजदूत ओलीले कठिन परिस्थितिमा प्राप्त यो सहयोगले नेपाल र थाइल्यान्डबीचको लामो समयदेखिको मित्रता, ऐक्यबद्धता र घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गरेको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै