• २०८३ भदौ २४ बुधबार

सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीको तलब बढाइयो

सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीको तलब बढाइयो

काठमाडौँ । सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री र अन्य उच्च पदाधिकारीको वार्षिक तलब बढाउने निर्णय गरेको छ ।

यससँगै विश्वकै सबैभन्दा बढी तलब पाउने राजनीतिक नेता रहेका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिक २२ लाख सिंगापुर डलरबाट बढेर ३६ लाख सिंगापुर डलर अर्थात् करिब २८ लाख अमेरिकी डलर पुग्ने भएको छ ।

वङको तलब प्याकेजमा १४ लाख सिंगापुर डलर अर्थात् करिब ११ लाख अमेरिकी डलर थपिनेछ । उनले तलब वृद्धिबाट प्राप्त रकम आगामी पाँच वर्षमा परोपकारी काममा दान गर्ने बताएका छन् । योग्य र सक्षम व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न तथा भ्रष्टाचार रोक्न उच्च पारिश्रमिक आवश्यक रहेको उनको तर्क छ ।

नयाँ व्यवस्थाअनुसार मन्त्रीहरूको आधारभूत वार्षिक पारिश्रमिक करिब ११ लाख सिंगापुर डलरबाट बढेर १२ लाख सिंगापुर डलर अर्थात् करिब ९ लाख ४० हजार अमेरिकी डलर पुग्नेछ । कार्यसम्पादनका आधारमा वर्तमान सरकारको कार्यकालको अन्त्यसम्म अधिकांश मन्त्रीले करिब १३ लाख ५० हजार सिंगापुर डलर अर्थात् १० लाख ५० हजार अमेरिकी डलर सम्म पाउने अपेक्षा गरिएको छ ।

तर, रोजगारीको असुरक्षा, महँगी र नयाँ पुस्ताका लागि रोजगारीको चिन्ताबीच उच्च पदाधिकारीको तलब बढाउने निर्णयको आलोचना भएको छ । सिंगापुरमा औसत मासिक आम्दानी ५ हजार ७७५ सिंगापुर डलर अर्थात् करिब ४ हजार ५०० अमेरिकी डलर रहेको अवस्थामा सरकारको निर्णयलाई कतिपयले नागरिकको अवस्थाप्रति संवेदनहीन भनेका छन् । पछिल्लो त्रैमासिकमा रोजगारी कटौती पाँच वर्षयताकै उच्च पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

विश्वका अन्य प्रमुख नेताको तुलनामा वङको तलब निकै बढी छ । हङकङका प्रमुख कार्यकारी जोन लीको वार्षिक तलब करिब ७ लाख १९ हजार अमेरिकी डलर र स्विट्जरल्यान्डका राष्ट्रपति गाय पार्मेलिनको करिब ६ लाख ६ हजार अमेरिकी डलर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक ४ लाख अमेरिकी डलर र बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले करिब २ लाख ३० हजार अमेरिकी डलर पाउँछन् । सिंगापुर सरकारले भने उच्च तलबका कारण देशमा भ्रष्टाचार न्यून रहेको दाबी गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै