काठमाडौँ । ओपनएआईले आफ्नो कृत्रिम बौद्धिकता प्रविधिले गणितको सबैभन्दा कठिन समस्यामध्ये एक मानिएको ९० वर्ष पुरानो नेभियर स्टोक्स समस्याको महत्वपूर्ण हिस्सा समाधान गरेको दाबी गरेको छ ।
ओपनएआईका अनुसार कृत्रिम बौद्धिकता प्रणालीले यसका लागि करिब ८८ घण्टा लगाएको थियो ।
नेभियर स्टोक्स समस्या सन् २००० मा प्रतिष्ठित गणित संस्था क्ले गणित संस्थानले छनोट गरेका सात कठिन गणितीय समस्यामध्ये एक हो । यी समस्यालाई ‘सहस्राब्दी समस्या’ भनिएको थियो । सातमध्ये कुनै एक समस्या समाधान गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो ।
नेभियर स्टोक्स समीकरणले पानी, हावा तथा अन्य तरल पदार्थ कसरी बग्छन् भन्ने कुरा गणितीय रूपमा व्याख्या गर्छ । वैज्ञानिकहरूले यी समीकरणमार्फत तरल पदार्थको गति, दिशा र बहावको अवस्था अनुमान गर्दै आएका छन् । तर यी समीकरणले सबै अवस्थामा सही रूपमा काम गर्छन् कि गर्दैनन् भन्ने प्रश्न अझै पूर्ण रूपमा समाधान भएको थिएन ।
ओपनएआईले नयाँ कृत्रिम बौद्धिकता प्रणाली प्रयोग गरेर समस्यासँग सम्बन्धित चारमध्ये दुई महत्वपूर्ण विषय प्रमाणित गरेको जनाएको छ । त्यसैले कम्पनीले यसलाई पूरै समस्या समाधान भएको दाबी नगरेको र १० लाख अमेरिकी डलरको पुरस्कारमा समेत दाबी नगर्ने जनाएको छ ।
ओपनएआईले प्रयोग गरेको नयाँ प्रणाली सर्वसाधारणका लागि सार्वजनिक गरिएको छैन । कम्पनीले यसको नाम पनि खुलाएको छैन । कम्पनीका अनुसार यो प्रणाली हाल सार्वजनिक गरिएको नयाँ पुस्ताको कृत्रिम बौद्धिकता प्रणालीभन्दा समेत बढी सक्षम आन्तरिक प्रणाली हो ।
यस काममा करिब १० हजार कृत्रिम बौद्धिकता प्रतिनिधि प्रयोग गरिएको र उनीहरूले करिब ३० लाख सन्देश आदानप्रदान गरेको ओपनएआईले जनाएको छ ।
यसबीच ओपनएआईको दाबीलाई लिएर विवादसमेत उत्पन्न भएको छ । गणितज्ञ ट्रिस्टन बकमास्टर र लेभेन्ट अल्पोगे पनि यही समस्यामा अनुसन्धान गरिरहेका थिए । उनीहरूले अनुसन्धानका क्रममा ओपनएआईका कृत्रिम बौद्धिकता उपकरणको समेत प्रयोग गरेका थिए ।
उनीहरूले अगस्टमा आफ्नो अनुसन्धानबाट केही नयाँ निष्कर्ष निकालेका थिए तर त्यसलाई सार्वजनिक गरेका थिएनन् । बकमास्टरले सेप्टेम्बर ३ मा आफ्नो अनुसन्धानसँग सम्बन्धित जानकारी ओपनएआईसम्म पुगेको थाहा पाएपछि आशंका व्यक्त गरेका थिए ।
तर ओपनएआईले ती दुई गणितज्ञको अनुसन्धान सार्वजनिक हुनुअघि आफूले नदेखेको दाबी गरेको छ ।









