काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षा तथा खेलकुद हेर्ने मन्त्रीहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा संघ र प्रदेश सरकारबीच शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा विचारविमर्श भएको थियो । छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वयलगायत विषयमा छलफल भएको थियो ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी विधेयक आपसी छलफलबाट टुंग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । मन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा तीन तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए ।
विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्र स्पष्ट पार्नुका साथै छुटेका विषय समेटेर विधेयकलाई थप समृद्ध बनाइने बताएका थिए । उनले दीर्घकालीन रूपमा प्रभावकारी हुने गरी ऐन निर्माण गर्न सरोकारवालासँग छलफल भइरहेको बताएका थिए ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न तीन तहका सरकारबीच बलियो समन्वय आवश्यक रहेको पनि मन्त्री पोखरेलले बताएका थिए । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने नीति लिइने उनले बताएका थिए ।
छलफलमा सातै प्रदेशका सामाजिक विकास तथा शिक्षा र खेलकुद हेर्ने मन्त्रीहरूले पनि तीन तहका सरकारबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाले शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिएकी थिइन् । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारबीच समन्वय बलियो बनाउनुपर्ने बताएका थिए ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।









