काठमाडौँ । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका अनुसार उक्त सहयोग बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउन प्रयोग हुनेछ । प्रभावित समुदायलाई पुनःस्थापित गर्दै सामान्य जीवनमा फर्काउन आवश्यक दीर्घकालीन प्रयासमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
‘भिल’ले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबै परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । साथै, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीको प्रयासको प्रशंसा गरेको छ ।
‘भिल’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताएका छन्। उनले आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई अर्थपूर्ण रूपमा सहयोग गर्न सकिने उपाय खोजिरहने बताएका छन् ।
कम्पनीले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सक्ने व्यक्ति, व्यवसाय तथा संघसंस्थालाई आ–आफ्नो तर्फबाट योगदान गर्दै बाढी प्रभावित समुदायको साथमा उभिन आग्रह गरेको छ ।









