काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमानमध्ये एक एयरबस ए-३८० को व्यावसायिक यात्रा अन्त्यतिर पुगेको छ । अस्ट्रेलियाको राष्ट्रिय वायुसेवा कम्पनी क्वान्टासले आफ्ना १० वटा ए-३८० विमानलाई सन् २०२८ देखि क्रमशः सेवाबाट हटाउने निर्णय गरेको छ ।
यसअघि सन् २०३२ सम्म सञ्चालन गर्ने योजना रहे पनि बढ्दो इन्धन तथा मर्मत खर्च, विमान पुरानो हुँदै जानु र आवश्यक पुर्जा पाउन कठिन हुन थालेपछि क्वान्टासले समयअगावै विमान हटाउने निर्णय गरेको हो ।
ए-३८० ले सामान्य संरचनामा ५०० भन्दा बढी यात्रु बोक्न सक्छ भने बढी सिट राख्दा ८०० भन्दा बढी यात्रु अटाउन सक्छ । ठूलो आकार, दुई तले यात्रु कक्ष र विलासी सुविधाका कारण यो विमान यात्रुमाझ निकै लोकप्रिय बनेको थियो ।
एयरबसले सन् २०२१ मै ए-३८० को उत्पादन बन्द गरिसकेको छ । यद्यपि एमिरेट्सले आफ्ना ए-३८० लाई सन् २०४० को दशकको सुरुआतसम्म सञ्चालन गर्ने योजना बनाएको छ । लुफ्थान्सा, सिङ्गापुर वायुसेवा र ब्रिटिस एयरवेजले पनि तत्काल यसलाई हटाउने योजना बनाएका छैनन् ।
कोरोना महामारीका बेला ए-३८० को भविष्य लगभग समाप्त भएको मानिएको थियो । तर नयाँ विमानको आपूर्तिमा ढिलाइ र हवाई यात्रामा आएको सुधारसँगै कतिपय वायुसेवा कम्पनीले आफ्ना ए-३८० पुनः सञ्चालनमा ल्याएका थिए ।
ठूलो क्षमता भए पनि ए-३८० सञ्चालनका लागि धेरै यात्रु आवश्यक पर्ने भएकाले अहिलेका वायुसेवा कम्पनीका लागि यो चुनौतीपूर्ण बन्दै गएको छ । कम इन्धन खपत गर्ने नयाँ पुस्ताका विमानले कम यात्रु बोकेर पनि लामो दूरी पार गर्न सक्ने भएकाले ए-३८० को स्थान क्रमशः साना र बढी किफायती विमानले लिन थालेका छन् ।









