काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसमार्फत उच्च शिक्षा सञ्चालन गरी स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य अघि बढाएको छ । यसका लागि महानगरपालिकाले लुम्बिनी बौद्ध विश्वविद्यालय र बागमती विश्वविद्यालयसँग अध्ययन तथा सहकार्यसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअनुसार क्याम्पस सञ्चालनको सम्भाव्यता, स्थान, लागत, शैक्षिक कार्यक्रम, भौतिक पूर्वाधार, जनशक्ति तथा व्यवस्थापन संरचनालगायत विषयमा अध्ययन गरिनेछ। साथै पाठ्यक्रम, विद्यार्थी भर्ना, परीक्षा, अनुसन्धान तथा गुणस्तर सुनिश्चिततासम्बन्धी विषयमा समेत अध्ययन गरी सुझाव दिइनेछ ।
बागमती विश्वविद्यालयसँग कानुन, वातावरण र इन्जिनियरिङलगायत विषयमा उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षण सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ । लुम्बिनी बौद्ध विश्वविद्यालयसँग भने बौद्ध अध्ययन, पुरातत्व, संग्रहालय शास्त्र, बौद्ध कला तथा वास्तुकला, सम्पदा संरक्षण र दिगो विकाससम्बन्धी कार्यक्रमबारे अध्ययन हुनेछ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थानीय ज्ञान, सीप, भाषा, कला, संस्कृति र सम्पदालाई उच्च शिक्षासँग जोड्दै स्थानीय समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको बताएकी छन् । अध्ययनका लागि तीन दिनभित्र महानगरपालिका र दुवै विश्वविद्यालयबाट दुई–दुई जना सदस्य रहने समिति गठन गरिने उनले बताएकी छन्।









