• २०८३ भदौ ३१ बुधबार

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनको असरले यस्ता विपद् बढिरहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सामना गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासबाट पारस्परिक लाभ लिन सकिने बताउँदै अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताएका छन् ।

कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेकी छन् । उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य गर्न तयार रहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै