काठमाडौं । अखिल नेपाल फुटबल संघले फिफाको निर्देशनअनुसार निलम्बन हटाउने वातावरण बनाउन तथा फुटबल संघको स्वायत्तता कायम राख्दै नेपाली फुटबलका नियमित गतिविधि सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।
विहिबार पत्रकार सम्मेलन गर्दै सरकारको हस्तक्षेपका कारण फिफाबाट निलम्बनमा परेपछि नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाएको भन्दै एन्फाले समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो ।
एन्फाले सार्वजनिक गरेको विवरणअनुसार फिफाको निलम्बनपछि फिफा महिला शृंखला २०२६ थाइल्यान्ड, महिला नेपाल र हङकङ अन्तर्राष्ट्रिय प्रतियोगिता, एएफसी यु–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यु–२० महिला एसियन कप २०२६ छनोट र एएफसी यु–२० एसियन कप २०२७ पुरुष छनोट लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता गुमेको छ ।
त्यस्तै, एएफसी महिला च्याम्पियन्स लिगमा समेत नेपाली टोलीको सहभागिता प्रभावित भएको एन्फाले जनाएको छ । फिफाको निलम्बनका कारण अन्तर्राष्ट्रिय सहभागितासँगै राष्ट्रिय टोलीको तयारी, प्रशिक्षण तथा विभिन्न प्रतियोगितासम्बन्धी गतिविधिमा समेत प्रत्यक्ष असर परेको एन्फाको भनाइ छ।
एन्फाका अनुसार निलम्बनपछि महिला तथा पुरुष राष्ट्रिय टोलीको प्रशिक्षण, महिला लिग, राष्ट्रिय लिग, युवा तथा विद्यालयस्तरीय फुटबल प्रतियोगिता, प्रशिक्षक तथा रेफ्री प्रशिक्षणलगायत घरेलु गतिविधिसमेत प्रभावित भएका छन् । संघले निलम्बनका कारण आर्थिक, प्रशासनिक तथा प्राविधिक गतिविधिमा पनि समस्या उत्पन्न भएको जनाएको छ ।
एन्फाले राष्ट्रिय खेलकुद परिषद्ले गत मार्च २५ मा गरेको निर्णयलाई समेत उल्लेख गर्दै फिफाको निर्देशनअनुसार समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । एन्फाले फिफाले कुनै पनि शर्त बिना पूर्ण रुपमा प्रतिबन्ध खारेज गर्ने र एन्फाले आफ्नो विधान र नियम अनुसार, सम्भव भएसम्म चाडो निर्वाचन प्रक्रिया पुरा गर्न पाउनुपर्ने शर्त राखेको स्पष्ट गरेको छ ।









