काठमाडौँ । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले सार्वजनिक गरेको विवरणअनुसार भदौमा भारत र बंगलादेशतर्फ विभिन्न माध्यमबाट कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
प्राधिकरणका अनुसार उक्त विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी भएको छ । कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २८८ युनिट र विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात भएको छ ।
द्विपक्षीय सम्झौतामार्फत गरिएको विद्युत् निर्यातबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ रुपैयाँ तथा विद्युत् बजारमार्फत १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ ।
भदौमा कुल विद्युत् निर्यातको ठूलो हिस्सा द्विपक्षीय सम्झौतामार्फत भएको थियो । भारतका हरियाणा र बिहार राज्यसँगै बंगलादेशतर्फ पनि विद्युत् निर्यात गरिएको थियो ।
तर भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ । अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सञ्चालन गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ ।









