काठमाडौं । निर्वाचनमा पराजयपछि नेकपा एमालेभित्र चर्किएको पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहसमा तत्कालका लागि रोकिएको छ ।
पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले तयार पारेको साझा प्रतिवेदनबाट नेतृत्व पुनर्गठन, अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय हटाएर सचिवालयले प्रतिवेदन ग्रहण गरे सँगै अब एमालेमा तत्कालका लागि यो विषय रोकिएको हो ।
आइतबार बसेको एमाले सचिवालय बैठकले कार्यदलको सर्वसम्मत प्रतिवेदन ग्रहण गर्दै अब त्यसलाई केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने निर्णय गरेको हो । प्रतिवेदनमा पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई औपचारिक रूपमा अघि नबढाउने सहमति भएको नेताहरूले बताएका छन् ।
निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, पार्टीको संगठनात्मक अवस्था र आगामी दिशाबारे गम्भीर बहस सुरु भएको थियो । यही क्रममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरिएको थियो । कार्यदलले विभिन्न प्रदेश तथा पार्टीका विभिन्न निकायमा पुगेर नेताकार्यकर्ताको सुझाव संकलन गरेको थियो ।
सुझावका आधारमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टीको संगठनात्मक पुनर्गठनसँगै नेतृत्व हस्तान्तरणसम्बन्धी विषयसमेत उठाइएको थियो । त्यसपछि कार्यदल संयोजक बादलले छुट्टै प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनबीच मतभेद देखिएपछि साझा धारणा बनाउन थप छलफल गरिएको थियो । दुवै प्रतिवेदनलाई मिलाउने क्रममा पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो । अन्ततः विभिन्न प्रस्ताव र सुझावलाई समेटेर तयार गरिएको साझा प्रतिवेदनमा नेतृत्व परिवर्तनको विषय नराख्ने सहमति जुटेको हो ।
एमाले सचिव महेश बस्नेतले अब अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा तत्काल विशेष महाधिवेशन बोलाउने विषय अघि नबढ्ने बताएका छन् । उनका अनुसार विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन अहिले आवश्यक नरहेको निष्कर्ष निकालिएको छ ।
यससँगै निर्वाचनपछि एमालेभित्र उठेको पार्टी पुनर्गठनको बहस तत्कालका लागि संगठनात्मक सुधार र आगामी राजनीतिक कार्यक्रमतर्फ मोडिएको छ । कार्यदलले देशभरबाट संकलन गरेका सुझाव भने प्रतिवेदनको अनुसूचीमा राखिएको बताइएको छ । सचिवालयले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णयसमेत गरेको छ। आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।









