काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि घुस मागेको आरोपमा तीन कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन विभिन्न बहाना बनाएर सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेका थिए । उनीहरूले ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंकको क्यूआरमार्फत र ८५ हजार रुपैयाँ सुमन राईले नगद लिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ ।
घुस लिइरहेको अवस्थामा आयोगको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट तथा लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा तीनै जनाले पूर्वयोजनाअनुसार घुस रकम बाँडेर लिने सहमति गरेको देखिएको आयोगको दाबी छ ।
आयोगले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको भन्दै १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।









