• २०८३ असोज ६ मंगलबार

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो 'माजु–नेपाल' मौसम पूर्वसूचना प्रणाली

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो 'माजु–नेपाल' मौसम पूर्वसूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई ‘माजु–नेपाल’ मौसम पूर्वसूचना प्रणाली औपचारिक रूपमा हस्तान्तरण गरेको छ । चीनको सिन्च्याङमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसमसम्बन्धी सहकार्य मञ्चका क्रममा चीन मौसम प्रशासनले नेपाल मौसम विभागलाई उक्त प्रणाली हस्तान्तरण गरेको हो ।

गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी पहिरोपछि चीनले निरन्तर मौसमसम्बन्धी सहयोग गर्दै आएको थियो । अगस्ट २९ मै ‘माजु–नेपाल’ प्रणाली परीक्षणका लागि उपलब्ध गराइएको थियो । उद्धार तथा राहतका क्रममा यसै प्रणालीका आधारमा दैनिक मौसम अनुगमन तथा पूर्वानुमान विवरण तयार गरी नेपाली अधिकारीलाई उपलब्ध गराइएको थियो ।

‘माजु–नेपाल’ले फेङयुन मौसम उपग्रहबाट प्राप्त तथ्याङ्क तथा चिनियाँ कृत्रिम बौद्धिकतामा आधारित पूर्वानुमान प्रणालीलाई एकीकृत गरी उच्च गुणस्तरको मौसम अनुगमन र पूर्वानुमान सेवा उपलब्ध गराउछ । नेपालको भौगोलिक अवस्था, विपद्को प्रकृति, पूर्वाधार र तथ्याङ्कको अवस्थालाई ध्यानमा राखेर प्रणाली तयार गरिएको जनाइएको छ ।

आगामी दिनमा चीनले नेपालमा ‘माजु–फेङयुन’ उपग्रहमा आधारित कृत्रिम बौद्धिकता उपकरण तथा अन्य एकीकृत उपकरण जडानमा सहयोग गर्ने जनाएको छ । साथै नेपाली जनशक्तिलाई विशेष तालिम दिने र दुवै देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान तथा परामर्श संयन्त्र स्थापना गर्ने योजना रहेको छ ।

चीन मौसम प्रशासनका प्रशासक चेन झेनलिनले मौसमसम्बन्धी पूर्वसूचना आर्थिक तथा सामाजिक विकास, जनकल्याण र जनधनको सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले ‘माजु’ प्रणालीलाई चीनको अभ्यासबाट विश्वव्यापी सार्वजनिक सेवाका रूपमा विस्तार गर्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै