काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । यो प्रधानमन्त्री भएपछि शाहको पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क जाने छन् ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् । त्यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल गत आइतबारनै अमेरिका प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ ।









