• २०८३ असोज ७ बुधबार

डेनमार्कसँगको सम्झौता अनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई सैन्य क्याम्प बनाउन सक्ने

डेनमार्कसँगको सम्झौता अनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई सैन्य क्याम्प बनाउन सक्ने

काठमाडौँ । अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच नयाँ रक्षा सम्झौता भएको छ ।

सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैन्य क्याम्प स्थापना गर्न सक्नेछ । सम्झौताले ग्रिनल्यान्डमाथि डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डको आत्मनिर्णयको अधिकारलाई पनि कायम राखेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सम्झौतामा हस्ताक्षरअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपयुक्त स्थानमा ठूलो सैन्य उपस्थिति विकास गर्ने प्रक्रिया तत्काल सुरु गरिने बताएका थिए । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले सम्झौता अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका साथै युरोप र नेटोका लागि पनि महत्वपूर्ण रहेको बताएकी छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले यसलाई तीनै पक्षका लागि लाभदायक सम्झौता भनेका छन् ।

सम्झौताले सन् १९५१ मा अमेरिका र डेनमार्कबीच भएको रक्षा सम्झौतालाई संशोधन तथा अद्यावधिक गरेको छ । यसअन्तर्गत दक्षिणी ग्रिनल्यान्डको नार्सार्सुआक र पूर्वी क्षेत्रमा रहेको मेस्टर्सभिगमा अमेरिकाले थप रक्षा क्षेत्र स्थापना गर्न सक्नेछ । साथै, अमेरिकाले हाल सञ्चालनमा रहेको पिटुफिक अन्तरिक्ष अखडामा आफ्ना गतिविधि आधुनिकीकरण र विस्तार गर्न सक्नेछ। सैन्य अखडासम्बन्धी प्राविधिक विवरण भने तीनै पक्षको सहमतिमा तय हुनेछन् ।

सम्झौताले नेटोका सदस्य नरहेका कुनै पनि देशलाई ग्रिनल्यान्डमा आफ्नै सैनिक संरचना स्थापना गर्न वा निरन्तर सैन्य उपस्थिति राख्न रोक लगाएको छ । साथै, ग्रिनल्यान्ड डेनमार्कबाट स्वतन्त्र भए पनि नेटोमा रहने अवस्थामा सम्झौता लागू हुने उल्लेख छ ।

ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको अघिल्लो अभिव्यक्तिपछि अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच लामो समयदेखि तनाव रहँदै आएको थियो । नयाँ सम्झौताले ग्रिनल्यान्डको भूभाग अमेरिकालाई हस्तान्तरण नगरी अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने व्यवस्था गरेको छ । सम्झौता कार्यान्वयनका लागि डेनमार्क र ग्रिनल्यान्डका संसद्बाट समेत अनुमोदन हुनुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै