• २०८३ असोज ७ बुधबार

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी

एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकको तेस्रो दिन आज बिहान ९ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । 

मंगलबारसम्म ११८ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने बताइएको छ । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

बैठकमा पार्टीका विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ । आज सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि विहिबार पार्टी सचिवालयको बैठक बस्ने र सचिवालय बैठकका निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गरेर बैठक सक्ने तयारी गरिएको छ । 

बैठकका एजेन्डामा केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायत विषय रहेका छन् । बैठकमा सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासनसम्बन्धी विषय तथा समसामयिक प्रस्तावमाथि पनि छलफल गर्ने कार्यसूची छ । बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट र महासचिव शंकर पोखरेललाई दिइएको छ ।

त्यस्तै, बैठकमा हुने बहस तथा सदस्यहरूले राख्ने धारणालाई समेटेर बहस नोट तयार गर्ने जिम्मेवारी उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, नीरज आचार्य र खिमलाल भट्टराईलाई दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै