• २०८३ असोज ७ बुधबार

लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग

लघु, घरेलु तथा साना उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । 

महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी १० वर्षलाई ‘एमएसएमई विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिएको छ ।

महासंघले सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने, ‘मेड इन नेपाल’ अभियान अघि बढाउनुपर्ने, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदान दिनुपर्ने माग गरेको छ । महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० लगानीकर्ता’ कार्यक्रम र उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट ट्रयाक औद्योगिक सेवा’ लागू गर्न पनि प्रस्ताव गरेको छ ।

महासंघका मागबारे कार्यवाहक प्रधानमन्त्री डा. वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् । महासंघले सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने जनाएको छ ।

यसै अवसरमा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत संकलन गरी छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै