बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
गएराति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका स्कुटर चालक मोरङको लाङटाङ नगरपालिका–१ का करिब ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारका क्रममा राति ११: ५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
प्रहरीले ट्रक र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ का करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









