हेटौडा । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह लगातार बढ्न थालेपछि मकवानपुर प्रशासनले कुलेखानी हुँदै काठमाडौं जाने तथा काठमाडौं हुँदै हेटौंडा आउने यात्रुका लागि विशेष यात्रा सचेतना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्था हेरी नेपाल विद्युत् प्राधिकरणले साइरन बजाएर सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी जुनसुकै समयमा तालको ढोका खोल्न सक्ने जनाएको छ ।
प्रशासनले आज असोज ११ गते दिउँसो ४ बजेदेखि असोज १२ गते बिहान ५ बजेसम्म भैंसे हुँदै देउराली–सिस्नेरी–काठमाडौं तथा पालुङ हुँदै सिस्नेरी–देउराली–हेटौंडातर्फ कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।
अत्यावश्यक कामका लागि काठमाडौं जाने वा हेटौंडा आउने यात्रुले उक्त अवधिमा वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थापनसम्बन्धी जारी सूचनाअनुसार यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
साथै, उक्त मार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई जिल्ला प्रशासन कार्यालयको आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।









