काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले सीप तथा रोजगारीको अवसर खोजिरहेका युवालगायतलाई लक्षित गर्दै कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ ।
मन्त्रालयका अनुसार असोज १४ देखि २० गतेसम्म ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित मेला सञ्चालन हुनेछ ।
मेलामा रोजगारदाताको माग तथा सीप र रोजगारी खोजकर्ताको योग्यता, अनुभव, सीप र रुचिका आधारमा सीप विकास, सीप परीक्षण तथा प्रमाणीकरण, रोजगार मिलान र रोजगारीका लागि सिफारिस गरिनेछ । सीप सिक्न चाहने, आफ्नो योग्यता र अनुभवअनुसार रोजगारी खोजिरहेका तथा सीप परीक्षण र प्रमाणीकरण गर्न चाहने व्यक्तिलाई मेलामा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ ।
रोजगारदाता तथा सीप र रोजगारी खोजकर्ताले jobfair.shramsansar.gov.np मा आफ्नो विवरण दर्ता गरी मेलामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रोजगारदाता र रोजगारी खोजकर्तालाई मेलामा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ ।









