काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईलाई उपचार भइरहेको अस्पतालमा अमेरिकी बमबारी भएपछि भग्नावशेषबाट उद्धार गरिएको दाबी गरिएको छ ।
इरानको विशेषज्ञ सभाका सदस्य मोहसेन हैदरीले कतारको टेलिभिजन सञ्जाल अल अरबिसँगको अन्तर्वार्तामा मोज्तबा घाइते भएपछि अस्पताल भर्ना गरिएको र तेहरानका तीन अस्पतालमा बमबारी हुँदा उनी तेस्रो अस्पतालको भग्नावशेषमा पुरिएको बताएका छन् । उनका अनुसार मोज्तबालाई भग्नावशेषबाट निकालिएको थियो ।
मोज्तबा खामेनेईलाई गत मार्च ८ मा इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको थियो । हैदरीले सरकारी टेलिभिजनबाट घोषणा नभएसम्म मोज्तबालाई समेत आफ्नो चयनबारे जानकारी नभएको दाबि गरेका छन् ।
हैदरीले मोज्तबा स्वस्थ रहेको र धार्मिक तथा नेतृत्व क्षमता भएकाले उनलाई सर्वोच्च नेताका रूपमा चयन गरिएको दाबी गरेका छन् । यद्यपि, मोज्तबाको हालको अवस्थाबारे स्वतन्त्र रूपमा विस्तृत जानकारी सार्वजनिक भएको छैन ।









