काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।
कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा उनले यस्तो बताएका हुन् ।
भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि दिए ।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए । नेपाल बसाइका क्रममा सहयोग पुर्याएकोमा उनले नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।









